मृत्युको कथा




आज म मृत्युको कथा लेख्दैछु। 

आफैलाई शिरदेखि पाउसम्म हेर्छु। आफ्नै कपाल सुमसुम्याउँछु। गाला मुसार्छु। ओठलाई स्पर्श गर्छु। सिरानीको आभास लिन्छु। डसनाको स्पर्शलाई ठम्याउँछु। चादरको मुलायमतालाई अनुभव गर्छु। मांसपेशीहरूलाई तन्क्याउँछु र त्यसको आभास लिन्छु। आन्द्रा, मृगौला, कलेजो,फोक्सो, मुटु, स्वास नली, आँखा, नाक, चर्म सबै सबै आआफ्नो काम गरिरहेका छन्। हावाको सरसराहट सुनेकै छु। कोइलीको को हो को हो सुनेकै छु। कोठाको चिसो तातो अनुभव गरेकै छु। 

म र वर्तमान को बीचमा कुनै दरार छैन। मेरो अस्तित्व र प्रकृति को बीच कुनै दुरी छैन। न त मलाई कसैले समयभन्दा अगाडि तानेको छ न त समयभन्दा पछाडि तानेको छ। म समय सँगसँगै मेरो वर्तमान, मेरो अस्तित्व, मेरो ब्रह्माण्ड सबै एकाकार भएका छन्, छुट्याउन सक्दिन कुन को हो र कुन को हो।

आफूले आफैंलाई चिनेपछि हामीलाई कुनै पनि परिस्थिति, मनस्थिति, व्यक्ति, घटना-परिघटना कसैकसैले पनि बिरानो जस्तो व्यवहार गर्न दिँदो रहेनछ। लोभियो भने त्यो त म होइन अर्कै भैयो कि? रिसायो भने त त्यो म होइन अर्कै भैयो कि? जस्तो लाग्छ।

मृत्युको संघारमा पुगेको म पुरानो एक्लो घरमा आएर बसेको छु। म यहाँ बसेर फगत मृत्युलाई मात्र कुरिरहेको छु। 

देव्रे छातीमा असहिय पीडा हुन्छ। म छटपटाउँछु उठेर कसैलाई गुहार्न खोज्छु फेरि सम्झन्छु आखिरमा त्यस्तै ठाउँ खोजेर आएको थिए जहाँ गुहार्नको कुनै गुञ्जायस नै नरहोस्। पीडाबाट भाग्न खोज्नु मान्छेको स्वोभाविक गुण रहेछ तर जब मैले पीडालाई स्वीकार गरे अनि पीडाकै चरणमा परे तब भाग्नुको कुनै प्रयत्न नै गर्न परेन, कोसिस नै गर्नु परेन । कसैले भनेको थियो भाग्यो भने दुःख बढ्छ स्वीकार ! स्वीकार गर्नुको कत्रो ठूलो मनोविज्ञान रहेछ, कत्रो ठूलो दर्शन रहेछ।

आहा स्वीकार गर्नुमा कस्तो आनन्द । महारोगबाट छुटकारा पाए जस्तो । वर्षौंको ऋण चुक्ता भए जस्तो । एउटा आजीवन कारावासबाट मुक्त भए जस्तो । कुनै अप्ठ्यारो यात्रा पूर्ण भएजस्तो।


Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी