Posts

Showing posts from May 21, 2023

लेख्दालेख्दैको कविता बीचमै छोडेर आएको छु डा दोस्ती रेग्मी

Image
  लेख्दालेख्दैको कविता बीचमै छोडेर आएको छु जति नै ठूलो कोठा बनाए पनि संसार कोठाबाहिरै थुनिन्छ जिन्दगीलाई जसरी अर्थ्याए पनि जिन्दगीको अर्थ कोष्ठकबाहिरै छोडिन्छ हुन त सारा आकाशका जून तारा तिम्रै अञ्जुलीको पानीमा प्रतिबिम्बित हुन सक्छ , तर सिङ्गो आकाश तिम्रो अञ्जुलीमा अटाउँदैन हुन त राम्रा आँखाले राम्रै दृश्य देख्ला तर परेलामै अल्झेर के गर्छौ ? सपनाको शहर त बन्द आँखाको पछाडि हुन्छ तिमीलाई सत्य प्राप्त हुनु र सत्यलाई तिमी प्राप्त हुनुमा फरक हुन्छ होश सहितको मदहोशी र बेहोश मदहोशीमा फरक हुन्छ मैले लेख्दा लेख्दैको सुन्दर कविता बीचमै छोडेर आएको छु जिन्दगीमा यति धेरै फूलहरू फुलेका छन् , म भ्रमर बनेर आएको छु।