Brahma Biharas: The Divine Dwellings: ब्रह्म विहार - Dosti Regmi दोस्ती रेग्मी
ब्रह्म विहार
(मैत्री, करुणा; मुदिता र उपेक्षा)
चित्र कविता सङ्ग्रह
दोस्ती रेग्मी
The Divine Dwellings
Dosti Regmi
हतारिन र सुस्ताउन जान्नु नै जिन्दगी रहेछ
कति सुस्ताउनपर्ने ठाउँमा हतारिएछ;
कति हतारिनुपर्ने ठाउँमा सुस्ताइएछ;
हतारिन र सुस्ताउन जान्नु नै जिन्दगी रहेछ।
एउटा ठुलो रूखलाई हेर्छु
एउटा ठुलो रूखलाई हेर्छु;
कति बर्सादको झापट् खाएको होला,
कति पतझरमा नाङगिएको होला,
तर आज नवयौवना वसन्त पलुवाले आँफैलाई ढाकेको छ ।
लौ भन्नुहोस् त, भमरा ठुलो कि कवि?
कविले फूलको जति महिमामण्डन गरेपनि,
रस त भमराले नै चाखेको हुन्छ ।
लौ भन्नुहोस् त, भमरा ठुलो कि कवि?
हामी सबै एउटा खुला कारागारका कैदीहरु हौँ
हामी सबै एउटा खुला कारागारका कैदिहरू हौँ।
सबै आआफ्नै परिस्थिति , मनस्थिति र आदतका बन्दी छौँ ।
जिन्दगी; बस्, मलाई यत्ति सिकाऊ
जिन्दगी;
मलाई हाँस्न आउँछ, हाँस्न नसिकाऊ।
मलाई रुन पनि आउँछ, रुन नसिकाऊ।
मलाई बोल्न आउँछ, बोल्न नसिकाऊ।
मलाई मौन बस्न पनि आउँछ, मौन बस्न नसिकाऊ।
बस्,
मलाई यत्ति सिकाऊ;
रुन मन लागेको बेला पनि हाँस्न सिकाऊ।
बोल्न मन लागेको बेला पनि मौन बस्न सिकाऊ।
दुनियाँ सुन्दरताको दुस्मन हुन्छ
तिम्रो जिन्दगी सुन्दर छ।
दुनियाँ सुन्दरताको दुस्मन हुन्छ।
के तिमीले आफ्नै जिन्दगीमा पनि खोट भेट्यौ ?
धत्, तिमी त आफ्नै सुन्दरताको दुस्मन भएछौ।
शब्द भन्दा गहिरो सङ्गीत र सङ्गीत भन्दा गहिरो शून्य हुन्छ
शब्द भन्दा गहिरो सङ्गीत र सङ्गीत भन्दा गहिरो शून्य हुन्छ ।
सम्बन्धको बचाउका खातिर
सम्बन्धको बचाउका खातिर,
हामी त्यो मात्रै भन्छौँ जो अरू सुन्न चाहन्छ
त्यसैले हामी जे भन्छौँ , त्यति मात्रै पनि होईनौं ।
निलो आकाशमा सेता बादल दौडिरहेछन्
निलो आकाशमा सेता बादल दौडिरहेछन् ,
म पनि जिन्दगीमा दौडिरहेछु,
फरक यति छ, उसको हातमा घडी छैन मेरो हातमा घडी छ ।
आजको दिन नै नयाँ छ
साथीले सोध्नुभयो ; के छ नयाँ नौलो ?
मैले भनेँ -
आजको दिन नै नयाँ छ ।
आजको दिन नै नौलो छ ।
यो दिन नत पहिले आएको थियो ,
न त पछि आउने छ ।
दु:खी आत्माहरू
उँट काँडाहरू चबाएर बस्छ ।
स्वाद काँडाहरूमा हुदैन
स्वाद त त्यो रगतमा हुन्छ
जुन उसको मुखमा काँडाहरूले बनाउने घाउबाट बग्छ।
उँट काँडाहरू चबाएर बस्छ ।
दु:खी आत्माहरू आफ्नै घाउहरूमा रमाएर हिँड्छन्।
सुख कतै भेटिन्छ कि भनेर छलेर हिँड्छन्।
सुख कतै देखिन्छ कि भनेर बत्ती निभाएर हिँड्छन्।
दु:खी आत्माहरू आफ्नै घाउहरूमा रमाएर हिँड्छन्।
(Picture: Melancholy woman; Pablo Picasso)
मन रुँदा रुँदै निदाएछ
मन खुसी खोजिरहेछ,
खुसी पनि मनलाई खोजिरहेछ,
मन रुँदा रुँदै निदाएछ ।
कविता र जिन्दगी
साथीले भन्यो -
पहिले उपान्यास लेख्यौ, अहिले कविता लेख्न थालेछौ ।
मैले भनेँ -
उपन्यास व्यायम हो ; कविता ध्यान हो ।
उसले भन्यो -
कविता छोटो र गहिरो हुन्छ ।
मैले भनेँ -
जिन्दगी पनि छोटो र गहिरो हुन्छ ।
(Painting: The wanderer above the sea of fogs by Caspar David Friedrich)
कफिन
परिवर्तन नै सत्य हो ।
स्टेबल त भ्रम हो ।
सबै भन्दा स्टेबल त कफिन भित्रको लास हुन्छ ।
हरेक दिन नयाँ हुन्छ
हरेक दिन नयाँ हुन्छ,
नयाँ दिनमा आफ्नो नयाँ सोच र सार्थक कर्मको लाहा छाप ठोकेर अगाडि बढ्नुपर्छ ।
ताकि,
पछाडि फर्केर त्यो दिनलाई हेर्दा सोच्न नपरोस्,
खोइ त्यो दिन कस्ले बिताइदिएछ,
खोइ त्यो दिन कसरी बितेछ ।
हजारौँ सम्भावना
हरेक दिन नयाँ हुन्छ,
त्यो दिनलाई पनि पुरानो सोच र तौरतरिकाले बाँच्नु भनेको,
हजारौँ सम्भावनालाई तिरस्कार गर्नु हो।
तिमी यति कोमल भएर हिँड्यौ
तिमी यति कोमल भएर हिँड्यौ,
यस्तो लाग्यो,
त्यो पाउले यो छातीलाई टेकेर हिँडे पनि,
मलाई सिमलको भुवाले छोए जस्तै हुनेछ ।
अब आफैंलाई सम्झिँदै छु ।
आधी जिन्दगी अरुलाई सम्झिँदै बित्यो;
आधी जिन्दगी आफुलाई बिर्सिँदै बित्यो;
अब आफैंलाई सम्झिँदै छु ।
(सेल्फ रिमेम्बरेन्स)
हजुरको शुभनाम के होला ?
उसले सोध्यो;
"हजुरको शुभनाम के होला?”
मैले भनेँ ;
"थाहा छैन यो शुभ हो या अशुभ,
मेरो त एउटै नाम छ - दोस्ती । "
आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ
सन्झनाको डोरी बाटेर,
कल्पनाको पिर्का राखेर,
सपनाको पिङ्गमा जति मच्चिए पनि,
आफूले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ ।
(Painting acknowledgement: "The swing" by Fragonard)
मन्दिर परिसरका देउताहरुलाई हेर्छु
मन्दिर परिसरका देउताहरुलाई हेर्छु;
देउताको पनि त दुस्मन हुँदो रहेछ;
देउता दानव बध गरिरहेछन् ।
देउताको पनि त घरबार हुँदो रहेछ ;
अर्धाङिनीसङ्ग मायलु समय ब्यतीत गरिरहेछन् ।
देउता पनि त एक्ला हुँदा रहेछन्;
धुम्धुम्ती ध्यानमा बसिरहेछन्।
हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ
हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ;
के भुल गर्यौ जसले तिमीलाई मन्दिर कुदाइरहेछ।
के कोर्न सक्थ्यौ सलाईको काँटी;
हिजोको झरीले तिम्रो दियो निभाइसकेछ।
तिमीले आफ्नो बाँसुरी बजाइरहनुपर्छ
तिम्रो दु:ख दुनियाँलाई मजाक हुन्छ।
तिमी गलत र दुनियाँ सही पनि हुनसक्छ;
एकै छिन आफ्नै दु:खमा हाँसेर हेर ।
दु:खले मुटुलाई जलाएर , मनलाई डढाए पनि,
आत्माको शीतल कायमै हुन सक्छ।
दु:खको रोम जति जले पनि,
निरो जसरी तिमीले पनि आफ्नो बाँसुरी बजाइरहनुपर्छ।
जङ्गली काँडालाई कसैले तिखार्नु पर्दैन
जङ्गली फुललाई कसैले रङ्ग पोत्नुपर्दैन;
जङ्गली काँडालाई कसैले तिखार्नु पर्दैन।
तिमी जे छौ, सही छौ;
राम्रो बानाउने निहुँमा कसैले तिमीलाई नराम्रो बनाउनुपर्दैन।
सडकमा रातो बत्ती बलिरहोस् झैँ लाग्छ।
सडकमा रातो बत्ती बलिरहोस् झैँ लाग्छ;
अनपेक्षित ठाउँमा विश्राम लिइराखौँ झैँ लाग्छ।
यो मास्क नलगाउँ झैँ लाग्छ;
मास्क पछाडिको हँसिलो अनुहार नलुकाउँ झैँ लाग्छ।
ब्रह्माण्डसँग सबै प्रश्नको उत्तर हुन्छ;
तिमीले जे खोज्छौ, त्यही पाउँछौ।
त्यसैले तिमीले कहिल्यै उत्तर नखोज्नू;
बस्, आफ्नो प्रश्न सुधार्नू।
अचेल कोमल कुराहरुले त्यति छुँदैन मलाई
अचेल कोमल कुराहरुले त्यति छुँदैन मलाई;
जिन्दगीका कठोर सुन्दरताहरुको अनुरागी जो बनेको छु।
(Painting: Scene of the deluge, 1827 by Joseph Deseire)
जसले शब्दशब्दमा तिमीलाई रोक्छ र सोच्न बाध्य बनाउँछ, त्यो साहित्य हो
जो सलल बग्छ त्यो साहित्य होइन;
त्यो आदत हो।
जसले शब्दशब्दमा तिमीलाई रोक्छ र सोच्न बाध्य बनाउँछ, त्यो साहित्य हो।
यहाँ पल पल रोकिइँनुपर्छ, आफैँलाई कठघरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ
अरुण थापाहरु त गाउँछन् - " बित्नलाई बितिदिन्छ , एकोहोरो जिन्दगानी ।"
तर,
जिन्दगी त्यति सस्तो पनि त होईन बिताउनको लागि,
यहाँ पल पल रोकिइँनुपर्छ,
आफैँलाई कठघरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ।
सत्य त सजिलो र सरल हो
सत्यलाई पाउन गाह्रो छ भन्छन् ;
जे पाउन गाह्रो छ, त्यो सत्य होइन।
आफ्नो भ्रमलाई सत्य सावित गर्न खोज्नू पो गाह्रो हो।
भ्रमलाई हटाउन पो गाह्रो हो।
सत्य त सजिलो र सरल हो।
(Painting "The Truth" by Shivani Goel)
बस् खुसी हुनु !
तिमी राम्रो र असल बन्ने कोसिस नगर्नू;
बस् खुसी हुनू !
खुसी मान्छेबाट नराम्रो कहिल्यै हुँदैन ।
म कोमल मान्छे होइन;
म त्यो कठोर र क्रुर मान्छे हुँ, जसले कोमल हुने प्रयत्न गर्यो ....
(Painting: “I am a brutally soft woman" by Mays Almoosawi)
तिमीलाई तिमीसम्म पुर्याउन कुनै बाटो चहिन्छ र?
एउटा स्वतन्त्र मान्छेले फेरि स्वतन्त्रता नै खोजे बन्धनमा पुग्दैन र?
सधैँ चालु रहने नाटक आज बन्द भएछ
सधैँ चालु रहने नाटक आज बन्द भएछ ;
एक हुल मान्छे जम्मा भएपनि;
आज रङ्गमञ्चको पर्दा जलेछ।
मैले बुद्धलाई हौसाउँदै सोधेँ:
"अब अर्को जुनी नलिने?"
बुद्धले बडो नमज्जा मान्दै भने :
"भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि, अब जिउनुमा कुन रस रह्यो र?”
तिमी एक दिन चमेलीको सुवास लिएर आयौ,
तिमी अर्को दिन रोजमेरीको बास्ना लिएर आयौ;
तिमी एक दिन गुलाब लिएर आयौ,
तिमी अर्को दिन सुनाखरी लिएर आयौ ।
तिमी आजभोलि भने आउनेजाने गर्नै छाड्यौ...
तर पनि अचेल भरि म;
तिम्रै यादको गहिराइमा नुहाइरहेको हुन्छु;
तिम्रै चमेली र रोजमेरी बसाइरहेको हुन्छु;
तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु।
तिमी जे सुकै भन,
अन्तिम सत्य दुईवटा मात्रै हुन्छ।
एउटा तिमीले बुझेको सत्य;
अर्को तिमीले बुझ्न बाँकी सत्य, जुन तिमीले बुझेको भन्दा फरक छ।
एउटा तिमीले देखेको सत्य;
अर्को तिमीले देख्न बाँकी सत्य, जुन तिमीले देखेको भन्दा फरक छ।
एउटा तिमीले बाँचेको सत्य;
अर्को तिमीले बाँच्न बाँकी सत्य, जुन तिमीले बाँचेको भन्दा फरक छ।
(Painting: Two sides of a human coin ; By Sidharth Mohan)
म धेरै चोटि रुँदा रुँदै हाँसेको छु;
जिन्दगीको हल्का मजाकलाई बुझेको छु।
#cheerfulness
(Painting: Democritus - Laughing philosopher)
साथीले सोध्यो,
तिमी रक्सी , चुरोट खान्छौ?
मैले भनेँ- खाँदिन।
उसले भन्यो- तिम्रो त कुनै आदतै रहेनछ।
मैले भनेँ-
आदत नराख्नु नै मेरो आदत हो नि।
जिन्दगी अद्भुत छ।
यसको बारेमा जे भनेपनि गलत हुनु नपर्ने सहुलियत छ।
(Painting: Mona Lisa by Leonardo Da Vinci)
दु:खबाट पनि के भाग्नु?
एउटा दु:खबाट भाग्नु भनेको अर्को दुःखमा ठोकिनु न हो।
तिम्रो सौन्दर्य र सुखानुभूतिले म मर्माहत भएको छु।
काकाकुल घाँटीमा अमृतको पहिलो बुँद नै सर्केझैँ भएको छु।
(Clay sclupture: Martin Lutherius)
पोखिइँनै नसक्नेगरी जमेर के गर्नु ?
रित्तै गए त बरु भरिएर आउँला !
एउटा शून्यको प्रतीक्षामा म शून्य भएर बसेको छु,
सबै सबै आदतलाई छोडेर;
गुनासोको साहित्य र सान्त्वनाको अध्यात्मलाई मसानमा सेलाएर आएको छु।
जति नै ठूलो कोठा बनाए पनि
संसार कोठाबाहिरै थुनिन्छ
जिन्दगीलाई जसरी अर्थ्याए पनि
जिन्दगीको अर्थ कोष्ठकबाहिरै छोडिन्छ
हुन त सारा आकाशका जून तारा
तिम्रै अञ्जुलीको पानीमा प्रतिबिम्बित हुन सक्छ,
तर
सिङ्गो आकाश तिम्रो अञ्जुलीमा अटाउँदैन
हुन त राम्रा आँखाले राम्रै दृश्य देख्ला
तर परेलामै अल्झेर के गर्छौ?
सपनाको शहर त बन्द आँखाको पछाडि हुन्छ
तिमीलाई सत्य प्राप्त हुनु
र सत्यलाई तिमी प्राप्त हुनुमा फरक हुन्छ
होस सहितको मदहोसी र बेहोस मदहोसीमा फरक हुन्छ
मैले लेख्दा लेख्दैको सुन्दर कविता बीचमै छोडेर आएको छु
जिन्दगीमा यति धेरै फूलहरू फुलेका छन्, म भ्रमर बनेर आएको छु।
Nothing is changed and everything is changed.
We are taught to seek happiness;
but we are not taught to be happy.
Ohhh!
Nothing is changed and everything is changed.
Seeking gives way to finding;
And I happily found myself.
I found myself happy!
The other is hell.
Sartre says - The other is hell.
So, I think the corollary is YOU are heaven.
Expecting from hell will land you in hell.
Love yourself, dignify yourself.
Your SEFF never lets you down because that alone is true.
And truth sets you free.
तिमीसँगै नभएको कुरा अरुसँग कहाँ हुन्छ र?
अरुको उपेक्षाले के चित्त दुख्छ र हजुर?
आफ्नै अपेक्षाले पो चित्त दुख्छ।
तिमीसँगै नभएको कुरा अरूसँग कहाँ हुन्छ र?
सुनको थाली लिएर तिमी माग्न बसेछौ,
दिनेलाई देखेर मग्नेले नै तरस खानुपर्ने भएन र?
(Painting “Indian Begger” by Blake Carmichael)
जिन्दगीमा के बाधक, के मादक बुझेको छु
श्रेय र प्रेय चिजको मानक बुझेको छु।
म त धेरै चोटि रुँदारुँदै हाँसेको छु
आफैलाई जिन्दगीको चालक बुझेको छु।
सबथोक जलोस्, म मेरो बासुरी बजाइरहन्छु
मैले दुखका एक एक कारक बुझेको छु।
जिन्दगीमा रोग,भोक र शोक त हुन्छनै साहेब!
दुख्दा ऐया नभन्ने दोस्ती एक साधक बुझेको छु।
Comments
Post a Comment