शून्यता ( पारमिता उपन्यास अंश) डा. दोस्ती रेग्मी ।
शून्यता
त्यसवर्ष सिल्भिया पदयात्राका लागि लाङटाङ पुगेर आउनुभएको रहेछ । हरेक पदयात्रामा राजु दाइले नै उहाँलार्ई साथ दिनुहुन्थ्यो । राजु दाइकै फे सबुकबाट मै ले सिल्भिया ने पालमै भएको थाहा पाएको थिएँ ।
सिल्भियालाई भेट्न म बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा गएँ ।
उही हिउँजस्तो सेतो कपाल र आकाश जस्तो निलो आँखा ।
सिल्भिया बाल्को नीमा बसेर कफी खाँदै हुनुहुन्थ्यो । शिवपुरी डाँडा माथिबाट बादलका झुण्डहरू ओरालो लाग्दै थिए । बगैँचामा लोखर्के हरू कुदि®हे का थिए । धुपीका रुखहरू स्वागतका लागि नमस्ते गरे झैँ ठिङ्ग उभिइरहेका थिए । घाममा बाँकी रुखहरूका पालुवा र पातहरू ऐना जस्तै टल्किरहेका थिए । त्यहाँको वातावरणले एउटा ताजगी चारै तिर छरिरहेको थियो । लागिरहेथ्यो , म शीत हुँ र त्यो सम्पूर्ण माहोल र परिवेश बिहान हो ।
म सिल्भियाको नजिक पुग्ने बित्तिकै उहाँले उठेर मेरो लागि बस्ने कुर्सी अलिकति मिलाइदिनुभयो । स्वागत र अपनत्वको त्यो भावप्रति मैले आँखामा हार्दिकता र ओठमा खुसी छल्काइदिएँ । सिल्भियाले मेरो लागि कफीको अर्डर दिनुभयो । मभन्दा पाँच सात कदम पर थोरै बायाँतिर एउटा भँगेरा चुच्चोले भुइँमा केही कोट्याइरहेको थियो। एउटा लोखर्के आफू नजिक आउँदै गरेको देखेर भँगेर भुर्र उड्यो।
“हाउ इज योर लाइफ ?” म झसङ्ग भएँ, किनकि भँगेरा उड्नु र सिल्भियाले यो प्रश्न सोध्नु एकैचोटी भएको थियो।
मैले लामो स्वास लिएँ र भनेँ, “हुन त जिन्दगी पहिले पनि थियो , अहिले पनि छ । म पहिला पनि थिएँ, अहिले पनि छु । तर अचेल यस्तो लाग्छ पहिले जिन्दगीले मलार्ई जिउँथ्यो , अहिले म जिन्दगी जिउँदै छु । पहिले जिन्दगी कर्ता म क्रिया थिएँ, अहिले म कर्ता जिन्दगी क्रिया बनेको छ ।”
सिल्भियाको प्रश्न थियो – “कहिले कर्ता बन्ने कहिले क्रिया बन्ने , कहिले क्रियाको पनि प्रतिक्रिया बन्ने । त्यो भन्दा पर तिमी को हौ त ?”
मैले आँखा चिम्लेर आफैँलार्ई नियाल्न खोजेँ। त्यो कर्ता कतै छ जस्तो लाग्यो , पछ्याएँ तर त्यो त्यहाँ छँदै थिएन ।
“खोज आफूलाई ।”
सिल्भियाले मलाई शिष्यलाई गृहकार्य दिएजसरी भन्नुभयो । मैले आँखा चिम्म गरेर आफूलाई पछ्याएँ । एकाग्र हुँदै गएँ । चराहरूको चुहचुह र हावाका मसिना झोँकाको मिश्रित आबाजले कानलाई कोट्याइरह्यो । एउटा अलौकिक शीतलताले शरीरलाई कुतकुत्याइरह्यो ।
केही छिनपछि त्यो सब बिर्सेर, आफैँलाई अझै खोज्दै गएँ। निक्कैबेरसम्म सिल्भियाको कुनै आबाज आएन, मानौँ खोज उहाँपनि आफ्नो गरीरहनुभएको थियो।
खोज्दै जाँदा आफैँलाई, मैले पत्ता लगाएँ, त्यहाँ त शून्य मात्र थियो । त्यो ‘म हो’ भने कतै थिएन।
कर्ता र क्रियाको भूमिका भन्दा पर एउटा तटस्थता हुन्छ । त्यही तटस्थतामै शून्यता हुन्छ । अनि त्यही शून्यतामै सबै अभिनव सम्भावनाहरू हुन्छन् ।
मैले “म दुवै होइन शून्य हुँ” भनेँ ।
सिल्भियाले मुस्कुराउँदै मुन्टो हल्लाउनुभयो। टेबलमा कफी आइपुग्यो। सिल्भियाले मेनु मतिर सार्दिंदै अरू के ही अर्डर गर्नका लागि आग्रह गर्नुभयो । मैले नास्ता गरीसकेको बताएँ।
शिवपुरीबाट झरेको एक झुण्ड बादलले घामलाई छेकिदियो । मन्द शीतल हावा चलेको थियो । रुखका पातहरूले मानौँ सङ्गीत भेटेका हुन्, नाच्न थाले ।
कफीको पहिलो सिप लिएँ । त्यसको तातोले जिब्रोलाई आनन्द दिलायो । त्यो आनन्द समग्र चेतनामा फैलिँदै गयो । क्रमैले अर्को , अर्को सिप लिएँ । म शून्य हुँ – मभित्र बारम्बार यो ध्वनिको परावर्तन भइरह्यो । म शून्य हुँ ।शून्य । शून्य ।
सिल्भिया पनि त्यही शून्यतामा बाँच्ने मान्छे ।
शून्यता सिल्भियाको सेतो कपाल र चाउरिएको छालाभन्दा प्राचीन थियो । शून्यता ती पहाड, हिमाल, ढुङ्गा र माटो , घाम र बादल, जून र आकाश, प्रकाश र ध्वनि, दृश्य, गहिराइ र उचाइ धेरै थोकभन्दा प्राचीन थियो ।
शून्यता सिल्भियाको आँखा जस्तै गहिरो थियो । शून्यताकै अभ्यास र अनुभवका लागि अर्को दिनदेखि सिल्भिया विपश्यना जाँदै हुनुहुन्थ्यो। शिवपुरी जङ्गल नजिकैको स्वर्णिम विहार देखाउँदै सिल्भियाले मलाई आफ्नो विपश्यना गर्ने ठाउँ देखाउनु भएको थियो ।
******************
Comments
Post a Comment