मृत्युको कथा

आज म मृत्युको कथा लेख्दैछु। आफैलाई शिरदेखि पाउसम्म हेर्छु। आफ्नै कपाल सुमसुम्याउँछु। गाला मुसार्छु। ओठलाई स्पर्श गर्छु। सिरानीको आभास लिन्छु। डसनाको स्पर्शलाई ठम्याउँछु। चादरको मुलायमतालाई अनुभव गर्छु। मांसपेशीहरूलाई तन्क्याउँछु र त्यसको आभास लिन्छु। आन्द्रा, मृगौला, कलेजो,फोक्सो, मुटु, स्वास नली, आँखा, नाक, चर्म सबै सबै आआफ्नो काम गरिरहेका छन्। हावाको सरसराहट सुनेकै छु। कोइलीको को हो को हो सुनेकै छु। कोठाको चिसो तातो अनुभव गरेकै छु। म र वर्तमान को बीचमा कुनै दरार छैन। मेरो अस्तित्व र प्रकृति को बीच कुनै दुरी छैन। न त मलाई कसैले समयभन्दा अगाडि तानेको छ न त समयभन्दा पछाडि तानेको छ। म समय सँगसँगै मेरो वर्तमान, मेरो अस्तित्व, मेरो ब्रह्माण्ड सबै एकाकार भएका छन्, छुट्याउन सक्दिन कुन को हो र कुन को हो। आफूले आफैंलाई चिनेपछि हामीलाई कुनै पनि परिस्थिति, मनस्थिति, व्यक्ति, घटना-परिघटना कसैकसैले पनि बिरानो जस्तो व्यवहार गर्न दिँदो रहेनछ। लोभियो भने त्यो त म होइन अर्कै भैयो कि? रिसायो भने त त्यो म होइन अर्कै भैयो कि? जस्तो लाग्छ। मृत्युको संघारमा पुगेको म पुरानो एक्लो घरमा आएर बसेको छ...